शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, ५ जना नियन्त्रणमा

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी हुन लागेको त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस कार्यक्रम स्थल बाहिर युवाहरूले प्रदर्शन गरेका छन् ।

कार्यक्रम सुरु हुनुअघि विश्वविद्यालय परिसर बाहिर भेला भएका प्रदर्शनकारीहरूले ‘नेपो बेबी मुर्दावाद’ भन्दै नाराबाजी गरेका थिए । उनीहरूले शिक्षा क्षेत्रमा बढ्दो राजनीतिक प्रभाव, नियुक्तिमा पक्षपात र विश्वविद्यालयको अवस्थाप्रति असन्तुष्टि जनाएका थिए ।

प्रदर्शनका क्रममा नाराबाजी चर्किएपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रदर्शन उग्र हुन नदिन ५ जनालाई नियन्त्रणमा लिइएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा शिक्षा मन्त्री पोखरेल सहभागी भएका थिए । उनले कार्यक्रमस्थलमा राष्ट्रिय झण्डोत्तोलन गर्दै त्रिभुवन विश्वविद्यालयको वार्षिक दिवस समारोह उद्घाटन गरेका थिए ।