राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीसहित तराईका विभिन्न जिल्लामा भएका घटनाप्रति दुःख व्यक्त गर्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
मंगलबार जारी विज्ञप्तिमा लामिछानेले घटनाबाट उत्पन्न तनावपूर्ण अवस्थाप्रति पार्टी स्तब्ध भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने भन्दै सामाजिक सद्भाव, सहिष्णुता र आपसी एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्। लामिछानेले घटनाको निष्पक्ष र छिटो छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न तथा पीडितलाई उचित राहत र न्याय उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
रास्वपा शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा रहेको भन्दै उनले घटनालाई राजनीतिकरण नगर्न राजनीतिक दल र सरोकारवाला पक्षलाई आग्रह गरेका छन्। साथै स्थानीय तहका पार्टी समितिलाई पनि शान्ति कायम गर्न सहयोगी भूमिका खेल्न निर्देशन दिएका छन्।


















