धार्मिक सद्भाव कायम गर्न कैलालीमा ३ बुँदे निर्णय, भारतबाट आउँदा परिचयपत्र अनिवार्य

कैलालीमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न तीनबुँदे निर्णय गरिएको छ । तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको धार्मिक द्वन्द्व, आगजनी, तोडफोड तथा बन्द–हड्तालजस्ता घटनाबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विभिन्न निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीको आह्वानमा भएको अन्तरधार्मिक तथा सामाजिक सद्भाव जिल्ला समन्वय समितिको बैठकले जिल्लाभर धार्मिक तथा सामाजिक सद्भाव सुदृढ बनाउन स्थानीय तहसँग समन्वय गरी पालिका र वडा तहमा धार्मिक तथा सामाजिक सद्भाव समन्वय समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले कुनै एक धार्मिक समुदायको मात्र प्रतिनिधित्व हुने सभा, जुलुस वा र्‍याली सकेसम्म आयोजना नगर्न आग्रह गरेको छ । अपरिहार्य अवस्थामा यस्ता कार्यक्रम गर्दा स्थानीय प्रशासनलाई पूर्वसूचना दिई स्वीकृति लिनुपर्ने निर्णय गरिएको छ । साथै, शान्ति–सुरक्षामा असर पुग्ने कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरिएको छ ।

त्यस्तै, कुनै व्यक्ति वा संस्थाले अर्को धार्मिक समुदायको सम्मानमा आँच पुग्ने गतिविधि गरे तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाइने निर्णय पनि गरिएको छ । बैठकले हालको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै छिमेकी मुलुकबाट सीमा नाकाहुँदै नेपाल प्रवेश गर्ने सबै व्यक्तिले आधिकारिक परिचय खुल्ने परिचयपत्र देखाएर मात्रै नेपाल प्रवेश गर्न पाउने व्यवस्था लागू गर्ने निर्णय गरेको छ ।

यसैबीच, कैलाली उद्योग वाणिज्य संघ धनगढीको अगुवाइमा १८ गते धनगढीमा ‘नागरिक सद्भाव र्‍याली’ आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।