सरकार र हिन्दु सम्राट सेना नेपालबीच १९ बुँदे सहमित, आन्दोलनका कार्यक्रम फिर्ता

मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन गुरुङ र हिन्दु सम्राट सेना नेपालबीच १९ बुँदे सहमित भएकाे छ । सरकारी पक्षबाट मागहरू अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाइएपछि सेनाले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको घोषणा गरेको छ ।

आइतबार जनकपुरधामस्थित एक होटलमा करिब डेढ घण्टा चलेको वार्तामा गृहमन्त्री गुरुङको नेतृत्वमा सरकारी प्रतिनिधिमण्डल सहभागी भएको थियो । वार्तापछि हिन्दु सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीले यसअघि शनिबार बुझाइएको १३ बुँदे मागपत्रमा थप ६ बुँदा विषय समेटेर १९ बुँदे प्रस्ताव सरकारसमक्ष प्रस्तुत गरिएको जानकारी दिए ।

उनका अनुसार सरकार ती मागप्रति सकारात्मक देखिएको छ र कार्यान्वयनका लागि आवश्यक गृहकार्य गर्न उपयुक्त समयमा समिति गठन गर्ने समझदारी बनेको छ । समझदारीका मुख्य विषयहरूमा आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहा गर्ने, उनीहरूमाथि मुद्दा नचलाउने, तथा आन्दोलनका क्रममा गोली चलाइएको घटनाको छानबिन गरी दोषी सुरक्षाकर्मीमाथि कानुनबमोजिम कारबाही गर्ने विषय समावेश छन् ।

सरकारी पक्षबाट माग सम्बोधनतर्फ पहल हुने आश्वासन प्राप्त भएपछि हिन्दु सम्राट सेनाले सबै प्रकारका आन्दोलन, विरोध र दबाबमूलक कार्यक्रमहरू स्थगित तथा फिर्ता लिएको जनाएको छ ।

यसैबीच गृहमन्त्री गुरुङले हिजो जिल्ला प्रशासन कार्यालयको सभाहलमा प्राप्त १३ बुँदे मागपत्र र आज बुझाइएको थप ६ बुँदे प्रस्ताव सरकारको तर्फबाट औपचारिक रूपमा ग्रहण गरिएको बताएका छन् । उनले प्रस्तुत मागहरू सम्बन्धित निकायमार्फत अध्ययन गरी आवश्यक निर्णय प्रक्रिया अघि बढाइने उल्लेख गरेका छन् । वार्तापछि आन्दोलन स्थगित भएको घोषणालाई स्थानीय प्रशासनले तनाव न्यूनीकरणतर्फको सकारात्मक संकेतका रूपमा हेरेको छ ।