पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढ्यो, काठमाडौंमा प्रतिलिटर २०० रुपैयाँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। नयाँ मूल्य आज राति १२:०१ बजेदेखि लागू हुने निगमले जनाएको छ। नयाँ समायोजनअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ। यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर १३१ अमेरिकी डलर मूल्य बढाइएको छ। मूल्यवृद्धिसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल र डिजेलको खुद्रा मूल्य प्रतिलिटर २०० रुपैयाँ पुगेको छ।

सुर्खेत र दाङमा १९९ रुपैयाँ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १९७ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले ३१ जुलाई २०२६ मा पठाएको नयाँ खरिद मूल्यसूचीमा पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ १९ पैसा, डिजेलको ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धनको १९ रुपैयाँ ६ पैसा ले बढेर आएको थियो। सोही आधारमा आन्तरिक बजारमा मूल्य समायोजन गरिएको निगमको भनाइ छ। यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल/मट्टितेल १९५ रुपैयाँ थियो। मूल्य समायोजनपछि पनि निगमले पेट्रोलियम पदार्थको बिक्रीमा पाक्षिक रूपमा करिब १ अर्ब ४९ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने अवस्था रहेको जनाएको छ।