एमालेको निर्देशन कार्यान्वयन हुन्छ : सचिव राई

नेकपा (एमाले) का केन्द्रीय सचिव शेरधन राईले पार्टीको निर्णय र नेतृत्वको निर्देशनअनुसार अघि बढ्ने बताएका छन्। उनले कोशी प्रदेश सरकारको विषयमा देखिएको आन्तरिक जटिलता पार्टीभित्रको छलफलबाट समाधान हुने दाबी गरे। एमाले कोशी प्रदेश तथा संसदीय दलको बैठकका क्रममा पत्रकारहरूसँग कुरा गर्दै राईले पार्टीको निर्णय सबै तहका कमिटी र संसदीय दलले कार्यान्वयन गर्ने बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्देशनसहित राईलाई विराटनगर पठाएका थिए। त्यसपछि राईले मुख्यमन्त्री कार्कीलाई राजीनामा दिन आग्रह गरेका थिए। तर कार्कीले पार्टी कमिटीबाट निर्णय हुनुपर्ने अडान राख्दै राजीनामा दिएका छैनन्।

राईले मुख्यमन्त्री कार्कीसँग आफ्नो लामो राजनीतिक सहकार्य रहेको उल्लेख गर्दै यो व्यक्तिगत विवाद नभई पार्टीको आन्तरिक व्यवस्थापनको विषय भएको बताए। उनले तीनबुँदे सहमति र पार्टी नेतृत्वको निर्देशनअनुसार समाधान खोजिने स्पष्ट पारे। उनका अनुसार वर्तमान सरकार संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको हो र आगामी प्रक्रिया पनि सोही संवैधानिक व्यवस्थाअनुसार अघि बढाइनेछ।