सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको दोस्रो दिन बिहानैदेखि खोजी जारी

तीव्र गतिमा रहेको बसले रोकिराखेका बेला ठक्कर दिँदा यात्रुसहित सुनकोसी नदीमा वेपत्ता कारको मंगलबार बिहानैदेखि खोजी कार्य थालिएको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिका–२ नवलपुर सोमबार दिउँसो काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले बिपरित दिशाबाट खुर्कोटतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिँदा तीन जना यात्रुसहित सुनकोसी नदीमा वेपत्ता भएका थिए ।

सोमबार राति अवेरसम्म खोजतलास गरे पनि केही पत्तो लागेको थिएन । कोसीमा पानीको बहाव उच्च भएको र रातिको समय भएपछि स्थगित गरिएको खोजी कार्यलाई मंगलबार बिहानैबाट निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बसले ठक्कर दिँदा अनियन्त्रित भई कार सुनकोसी नदीमा खस्दा कारका चालक सिन्धुपाल्चोक घर भएका बर्ष ३९ का दिलकुमार लामा, स्काभेटर चालक सिन्धुली जिल्ला गोलान्जोर गाउँपालिका–१ बस्ने ध्रुब थापाको छोरा बर्ष अन्दाजी २८ का गणेश थापा र स्काभेटरका हेल्फर तीनपाटन गाउँपालिका–९ डाँडाखर्क बस्ने वर्ष १७ का सुजन बलम्पाकी मगर नदीमा बेपत्ता भएका थिए ।