तीन ठाउँबाटै वैधानिकता पुष्टि भइसकेको छ, अदालतले फेरि पुष्टि गर्ने अवसर दियो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले विधानको सार्वभौम अधिकार प्रयोग गरेर गरिएको विशेष महाधिवेशन वैधानिक भएको बताएका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासंघको सम्मेलनलाई सम्बोधन गर्दै उनले विधानले दिएको अधिकारलाई हल, निर्वाचन आयोग र सर्वोच्च अदालतले पुष्टि गरिसकेको बताएका हुन् । फेरि एकपटक वैधानिकता पुष्टि गर्ने अवसर अदालतले दिएको उनको भनाइ छ ।

‘अदालतको आदेशबाट स्वाभाविक प्रश्न उठेका छन् । केन्द्रीय समिति बैठकमा धारणा बनाउँछौँ । हतार गर्नुपर्ने कुरा छैन । कांग्रेसको विधानमा भएको सार्वभौम व्यवस्थालाई प्रयोग गरेर विशेष महाधिवेशन गरेका हौँ । त्यो हाम्रो अधिकार थियो । त्यसलाई हलबाट, निर्वाचन अयाोगबाट र सर्वोच्च अदालतले पुष्टि भइसकेको छ,’ थापाले भने, ‘फेरि पुष्ट्याइँ गर्नुपर्छ भनेर अदालतले भनेपछि वैधानिक थियो भनेर पुष्टि गर्ने अवसर पाएको रूपमा यसलाई लिएको छु । हामी सानका साथ वैधानिकता पुष्टि गर्छौं । ठीक थियौँ भनेर पुनः पुष्टि गर्छौं ।’

आफूहरूलाई विशेष महाधिवेशनको म्यान्डेट रहेको भन्दै उनले सबैलाई समेट्ने बताए । ‘विशेष महाधिवेशनमा नजाने साथीहरूप्रति सचेत रहनुपर्छ । सबैलाई समेटेर सँगै लिएर जानुपर्छ,’ थापाले भने, ‘पार्टीमा विधानभन्दा माथि सभापति हुँदैन । विधानको सीमाभित्र रहेर पार्टीको काम गर्नुपर्छ । हिजोको र आजको सभापति विधानभन्दा माथि छैनन् । हाम्रो अवधि मंसिरसम्म मात्रै छ । त्योभन्दा अगाडि महाधिवेशन गर्नु हाम्रो बाध्यता र कर्तव्य हो ।’

विधानको सीमामा रहेर सबैलाई महाधिवेशनमा सहभागी गराउन आफूले हरसम्भव पहल गर्ने उनको भनाइ छ ।