साउन २९ देखि ३१ गते हुने नेपाली काँग्रेस संस्थापन इतर पक्षको भेलामा पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहभागि बन्ने भएका छन्।
नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले शुक्रवार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएका हुन् । उनले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएकोमा खुशी व्यक्त गरे । नेता कोईरालाले पार्टी पूर्वसभापति शेरबहादुर देउवाका तर्फबाट दायर गरिएको न्यायिक पुनरावलोकनको निवेदनमा सर्वोच्च अदालतले २०८३ साउन २१ गते अनुमति प्रदान गरेको जानकारी दिए । उनले अदालतको उक्त निर्णयलाई स्वागत गर्दै आगामी न्याय निरूपणबाट पार्टीले न्याय पाउनेमा आफूहरू विश्वस्त रहेको बताए ।
सर्वोच्चको पछिल्लो निर्णयले भेलाको कार्यदिशामा कुनै परिवर्तन नल्याउने बरु कार्यकर्ताहरूमा थप उत्साह जगाउने उनको दाबी छ । पार्टीको आन्तरिक एकता र भावी कार्यदिशा तय गर्न आयोजना गरिएको राष्ट्रिय भेलाका बारेमा प्रष्ट पार्दै नेता कोईरालाले भने,‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई वैचारिक र सांगठनिक रूपमा एकतावद्ध बनाउन यो भेला कोशेढुङ्गा सावित हुनेछ । पहिले हामीले १० देखि २० हजारको सहभागिता हुने अनुमान गरेका थियौँ, तर अदालतको यो निर्णयपछि पार्टी पंक्तिमा सकारात्मक सन्देश गएको छ, जसका कारण भेलामा उल्लेख्य सहभागिता हुने देखिएको छ, । पूर्णजी अस्वस्थ हुनुहुन्छ र शेखर दाइ विराटनगरमा आफ्नै काममा व्यस्त हुनुभएकोले उपस्थित हुन नसक्नुभएको हो तर यो अभियानमा उहाँहरूको पूर्ण समर्थन र ऐक्यवद्धता रहेको छ ।’ साउन २६ गते पूर्वसभापति स्वदेश फर्कने सन्दर्भमा उठाइएका आशंकाहरूबारे बोल्दै उनले कुनै पनि प्रकारको धरपकड हुने सम्भावना नरहेको र यदि त्यसो गरिएमा पार्टीले कडा प्रतिवाद गर्ने बताए ।
साथै, उनले आफू पूर्वसभापतिलाई भेट्न हङकङ नगएको समेत स्पष्ट पारे । नेपाली काँग्रेसका भ्रातृ संस्था, शुभेच्छुक तथा सम्पूर्ण कार्यकर्ताहरूलाई भेलामा सहभागी हुन आह्वान गर्दै नेता कोईरालाले राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तमा आधारित भएर पार्टीलाई नयाँ जीवन दिने दृढ संकल्प व्यक्त गरे ।















