सिद्धान्त बेचेर सत्ता रोज्ने राजनीतिविरुद्ध विद्रोह र नयाँ विकल्पको खोजी । केशवराज श्रेष्ठ, पूर्व महामन्त्री, राप्रपा

नेपालको राजनीति आज गम्भीर मोडमा उभिएको छ। पुराना राजनीतिक दलप्रति जनताको वितृष्णा बढ्दै गएको छ, नेतृत्वप्रतिको विश्वास कमजोर बनेको छ र वैकल्पिक राजनीतिक शक्तिको खोजी तीव्र भएको छ। यही परिस्थितिमा राप्रपाका महामन्त्री धवलशमशेर राणासहित राप्रपा परित्याग गरेका नेता–कार्यकर्ता तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा सक्रिय दुर्गा प्रसाईंसहितका नेता–कार्यकर्ताहरू मिलेर नयाँ राजनीतिक शक्ति निर्माणको गृहकार्य अन्तिम चरणमा पुगेको छ।तर प्रश्न स्वाभाविक छ—राप्रपा छाडेर अर्को पार्टी खोल्नुको औचित्य के हो? नेपालमा राजनीतिक दल कम छन् र? अर्को एउटा पार्टी थपिँदैमा देशको राजनीति बदलिन्छ? यसको उत्तर नयाँ पार्टीको नाम, झण्डा वा चुनाव चिह्नमा होइन, विचार र व्यवहारबीचको सम्बन्धमा खोजिनुपर्छ।
यदि नयाँ पार्टी पनि पुरानै राजनीतिक संस्कार, सत्तामोह र अवसरवादको अर्को संस्करण मात्र भयो भने यसको कुनै अर्थ हुँदैन। तर यदि यसले सिद्धान्तलाई चुनावी नाराबाट निकालेर व्यवहारमा उतार्छ, राष्ट्र र नागरिकलाई राजनीतिको केन्द्रमा राख्छ र नेतृत्वलाई नैतिकता तथा जवाफदेहिताको कठघरामा उभ्याउँछ भने यसको औचित्य अवश्य छ। हामी यही औचित्य प्रमाणित गर्ने अभियानमा छौँ र नयाँ पार्टीमा गरेर देखाउने छौ ।

राप्रपाबाट विद्रोह किन? जब सिद्धान्त हार्यो र सत्ता जित्यो ।

राजनीतिको सबैभन्दा ठूलो संकट विचारको अभाव होइन, विचार र व्यवहारबीचको दूरी हो। दलले एउटा कुरा भन्ने र सत्तामा पुगेपछि त्यसको ठीक विपरीत गर्ने हो भने घोषणापत्र जति आकर्षक भए पनि जनविश्वास टिक्दैन। राप्रपाको राजनीतिक पहिचान लामो समयदेखि संवैधानिक राजसंस्था, हिन्दु राष्ट्र, राष्ट्रिय एकता, सुशासन, सदाचार र राष्ट्रिय स्वाभिमानसँग जोडिएको छ। वर्तमान व्यवस्थालाई असफल र राष्ट्रहितविपरीत भन्दै ‘अवस्था बदल्न , व्यवस्था बदलौँ’ भन्ने नारा दियौ। तर पार्टी नेतृत्वले व्यवहारमा भने त्यही व्यवस्थाको नेतृत्व गर्ने गणतन्त्रवादी दलहरूसँग सत्ता सहकार्य ग¥यो, सरकारमा सहभागी भयो र नेताहरुले महत्वपूर्ण मन्त्रालय सम्हालन पुगे ।
यहाँ प्रश्न सत्ता सहभागिताको मात्र होइन, राजनीतिक नैतिकताको हो। यदि व्यवस्था गलत हो भने त्यही व्यवस्थाको सरकारमा सहभागी हुनुको औचित्य के हो? यदि गणतन्त्र गलत भनिएको हो भने गणतन्त्रवादी दलको नेतृत्वमा बनेको सरकारमा गएर कुर्सी सम्हाल्नु सिद्धान्तको सम्मान हो कि सत्ताको मोह? सहज उत्तर छ ,सत्ता मोह ।
हो ,राजनीतिमा रणनीति आवश्यक हुन्छ। तर रणनीतिको नाममा आफ्नै मूल विचारलाई कमजोर बनाइन्छ भने त्यसलाई रणनीति होइन, सिद्धान्तसँगको सम्झौता भनिन्न छ । त्यसैले राप्रपा परित्याग कुनै पद नपाएको आक्रोश होइन। यो कुनै व्यक्तिविशेषविरुद्धको व्यक्तिगत दुश्मनी पनि होइन। यो भनाइ र गराइबीचको दूरीविरुद्धको विद्रोह हो। सिद्धान्त बचाउन चालिएको कदम हो ।
त्यसैगरी पाटीृ परित्याग गर्नुमा पार्टीभित्रको लोकतन्त्रको प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ। देशमा प्रजातन्त्र, विधिको शासन र जनताको अधिकारको कुरा गर्ने पार्टीले आफ्नो संगठनभित्र पनि लोकतान्त्रिक संस्कार देखाउनुपर्छ। पार्टीमा फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने र नीति तथा कार्यदिशामाथि बहस गर्न पाउने बातावरण हुनु पर्दछ । राप्रपामा यसको कमि भयो ।
पार्टीको महाधिवेशन कुनै औपचारिक कार्यक्रम मात्र होइन। महाधिवेशन नेतृत्वको परीक्षण, नीतिको समीक्षा र कार्यकर्ताले लोकतान्त्रिक अधिकार प्रयोग गर्ने थलो पनि हो ।समयमै महाधिवेशन नगर्ने, विधानलाई सुविधाअनुसार व्याख्या गर्ने र नेतृत्वलाई प्रश्नभन्दा माथि राख्ने प्रवृत्तिले पार्टीको लोकतान्त्रिक विश्वसनीयता कमजोर बनाउँछ भनेर हामीले भन्यौ तर सुनुवाई भएन । हामीले पार्टीभित्रै बसेर सुधार खोज्यौँ। आत्मसमीक्षाको आग्रह गर्यौ, विधानअनुसार संगठन चलाउनुपर्छ भन्यौँ र नेतृत्वले आफ्ना राजनीतिक निर्णयको समीक्षा गर्नुपर्छ भन्यौँ। तर सुधारका आवाजले उचित स्थान नपाएपछि विद्रोह बाध्यता बन्यो। त्यसैले धवलशमशेर राणासहितका नेता कार्यकर्ताको पार्टी परित्यागलाई व्यक्तिको व्यक्तिगत स्वार्थ वा असन्तुष्टी भन्दा विचार र कार्यशैलीमा आएको बिचलनको बिरुद्ध बिद्रोह हो ।

नयाँ पार्टी किन?

नेपालमा राजनीतिक दलको कमी छैन। कमी छ भने विश्वसनीय राजनीतिक विकल्पको।आज जनता केवल राजसंस्था वा गणतन्त्रको बहसमा सीमित छैनन्। उनीहरूलाई रोजगारी चाहिएको छ, भ्रष्टाचारबाट मुक्ति चाहिएको छ, महँगीबाट राहत चाहिएको छ, सहज सरकारी सेवा चाहिएको छ र युवाले देशमै भविष्य देख्न सक्ने वातावरण चाहिएको छ। त्यसैले नयाँ पार्टीको अर्थ अर्को पार्टी थप्नु होइन , राजनीतिमा नयाँ मापदण्ड स्थापित गर्नु हो।
हामीले अब गठन गर्ने पार्टीमा सुशासन पार्टीभित्र पनि लागू हुनेछ । नेतृत्वले आदेश मात्र नदिई कार्यकर्ताको कुरा पनि सुन्ने ,आलोचना सुन्ने, विधान दस्तावेजमा मात्र सीमित नभई ब्यवहारमा लागु हुनेछ । सत्ता साध्य नभई राष्ट्रसेवाको साधन बन्ने छ ।
बिगतमा राप्रपाले आफूलाई वैकल्पिक शक्ति बनाउने अवसर पाएको थियो। पुराना दलप्रतिको असन्तुष्टि बढिरहेको समयमा स्वच्छ राजनीति, भ्रष्टाचारविरुद्ध कठोर अभियान, आर्थिक राष्ट्रवाद, प्रशासनिक सुधार र सुशासनको स्पष्ट कार्यक्रमसहित अघि बढ्न सकेको भए उसले ठूलो राजनीतिक स्थान लिन सक्थ्यो। तर राप्रपाको नेतृत्वको कमजोरीले त्यो अवसर गुम्यो । तै पनि नेतृत्वले यो कुरा मान्न तयार नभए पछि हामी नयाँ अभियानमा लाग्दै नयाँ पार्टी गठको पुर्व सन्ध्यामा छौ ।
नयाँ राजनीतिक पार्टीका बैचारिक आधार र प्राथमिक एजेण्डा ।
नयाँ पार्टी गठन गर्ने भने पछि स्वभावीक रुपमा प्रश्न उठ्छ , नयाँ राजनीतिक पार्टीका बैचारिक आधार र प्राथमिक एजेण्डा के हुने छन् भन्ने । त्यसै त्यस बिषयमा छोटकरीमा बिषय बस्तु राख्ने प्रयास गरेको छु ।
नयाँ राजनीतिक पार्टीका वैचारिक आधार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक हितको संरक्षण हुनेछ। संवैधानिक राजसंस्था, हिन्दु राष्ट्र, राष्ट्रिय एकता, सुशासन, सदाचार र राष्ट्रिय स्वाभिमान यसका प्रमुख राजनीतिक आधार हुनेछन्। साथै आर्थिक विकास, रोजगारी, नागरिक सर्वोच्चता, मानव अधिकार र विधिको शासनलाइ प्राथमिकता दिइनेछ। यसका प्राथमिक ऐजेण्ड मुलत निम्म हुनेछन ।

आर्थिक विकास र आर्थिक राष्ट्रवाद । उत्पादन, लगानी, उद्यमशीलता र रोजगारीमार्फत आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने कृषि, पर्यटन, जलविद्युत्, सूचना प्रविधि, उद्योग, पूर्वाधार तथा साना–मझौला उद्यमलाई प्राथमिकता दिदै विप्रेषणमा निर्भर अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने ।

 स्वदेशमै रोजगारी, युवालाई अवसर । युवाको विदेश पलायन रोक्दै स्वदेशमै सम्मानजनक रोजगारी र उद्यमका अवसर सिर्जना गर्दै प्रत्येक प्रदेशमा उत्पादन, उद्योग, कृषि प्रशोधन, पर्यटन र सीप विकासका कार्यक्रम विस्तार गर्दै ,युवाको लक्ष्य—विदेश जाने होइन कि स्वदेशमै भविष्य बनाउन सकिन्छ यही केही गरौ भन्नेबातावरण बनाउन लागि पर्ने ।

 सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता । भ्रष्टाचार, बिचौलियातन्त्र, राजनीतिक संरक्षणवाद र प्रशासनिक ढिलासुस्तीको देशका अहिले चुनौती हुन यसको अन्त्य गरी स्तरीय सरकारी सेवा नागरिकको अधिकारको रुपमा स्थापित गर्दै , पारदर्शी र सुशासनको बढवा दिने ।

 नागरिक सर्वोच्चता । लोकतन्त्रको सर्वोच्च शक्ति नागरिक हुन्। जनप्रतिनिधिलाई निरन्तर जनताप्रति उत्तरदायी बनाउँदै निर्वाचनपछि पनि नागरिकको प्रश्न, निगरानी र सहभागितालाई सुनिश्चित गर्ने र दलभित्र समेत लोकतान्त्रिक अभ्यासलाई बढवा दिने ।

मानव अधिकार र विधिको शासन ।जीवन, स्वतन्त्रता, सम्मान, अभिव्यक्ति, धार्मिक स्वतन्त्रता, समानता र न्यायका मौलिक अधिकार सुनिश्चित गरिनेछ। जात, क्षेत्र, भाषा, समुदाय वा राजनीतिक आस्थाका आधारमा विभेद नर्गने । कानुन सबैका लागि समान हुनेछ।

 संवैधानिक राजसंस्था र राष्ट्रिय एकता । संवैधानिक राजसंस्थालाई नेपालको मौलिक राजनीतिक पहिचान, राष्ट्रिय एकता र दीर्घकालीन स्थायित्वसँग जोडीएको बिषय हुनुका साथै नेपालको इतिहास, भूगोल, संस्कृति र मौलिक आवश्यकताअनुकूल भएकोले संवैधानिक राजसंस्था र राष्ट्रिय एकतामा जोड दिने ।

 हिन्दु राष्ट्र र सांस्कृतिक पहिचान ।
हिन्दु राष्ट्रलाई नेपालको सनातन सभ्यता, संस्कृति, परम्परा र पहिचानको संरक्षणसँग जोडेर अघि बढाइनेछ। यससँगै सबै नागरिकको धार्मिक स्वतन्त्रता, समान सम्मान र अधिकार सुनिश्चित गरिनेछ।

राष्ट्रियता र राष्ट्रिय स्वाभिमान ।
राष्ट्रियताको कुरा गर्दा सीमाको रक्षा मात्र बुझ्ने बुझाई अुपुर्ण छ ,सीमाको रक्षा संगै अर्थतन्त्र, संस्कृति, प्राकृतिक स्रोत, उत्पादन र नागरिकको भविष्यको समेत रक्षा गर्दै स्वदेशमै अवसर र समृद्धिको आधार निर्माण गर्नु नयाँ बन्ने पार्टीको प्राथमिकता हुने छ ।यसरी राष्ट्र बलियो बनाउने, नागरिकलाई सम्मानित बनाउने, युवालाई स्वदेशमै अवसर दिने र सुशासनमार्फत समृद्ध नेपाल निर्माण गर्ने हाम्रो मूल संकल्प हुने छ ।

हामी प्रष्ट छौ , नेपाली जनतालाई अर्को एउटा पार्टी होइन, अर्को प्रकारको राजनीति चाहिएको छ—जहाँ सिद्धान्त चुनावका लागि होइन, शासनका लागि हो; पद अधिकार होइन, जिम्मेवारी हो; पार्टीमा कार्यकर्ता निर्णयका साझेदार हुन , सरकारी कार्यलयमा नागरिक सेवाग्राही मात्र होईन सेवा पाउने अधिकार भएका सार्वभौम नागरिक हुन भन्ने स्थापीत गर्ने , जहाँ युवा भविष्य खोज्दै विदेशिनु नपरोस्, किसानले श्रमको मूल्य पाओस्, उद्यमीले अवसर पाओस्, भ्रष्टाचारभन्दा इमानदारी बलियो होस् र नागरिकको सम्मान राज्यको पहिलो दायित्व बनोस्। जुन पार्टीको वैचारिक आधार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक हितको संरक्षण हुनेछ। संवैधानिक राजसंस्था, हिन्दु राष्ट्र, राष्ट्रिय एकता, सुशासन, सदाचार र राष्ट्रिय स्वाभिमान यसका प्रमुख राजनीतिक आधार हुनेछन्। साथै आर्थिक विकास, रोजगारी, नागरिक सर्वोच्चता, मानव अधिकार र विधिको शासन प्राथमिक ऐजेण्ड हुनेछन । त्यसैले आउनुहोस नयाँ पार्टी र संमृद्ध राष्ट्र निर्माणका लागि सँगै अघि बढौँ।