हिरासतमै रहेका पत्रकार श्रेष्ठलाई भेट्न नदिइएको भन्दै कानुन व्यवसायीद्वारा विरोध

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा सञ्चारकर्मी किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल बार एसोसिएसनको मानव अधिकार तथा जनसरोकार समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ।

समितिले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रकाशित समाचारको विषयमा कुनै गुनासो वा आपत्ति भए प्रचलित कानुनी प्रक्रियामार्फत समाधान खोजिनुपर्ने उल्लेख गर्दै पत्रकारलाई पक्राउ गर्ने, सञ्चारगृह बन्द गराउने तथा परिवारका सदस्यलाई मानसिक यातना दिने कार्य आधुनिक समयमा स्वीकार्य नहुने जनाएको छ।

नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र पत्रकारिताको अधिकार लोकतान्त्रिक व्यवस्थाका महत्वपूर्ण आधार भएको समितिको भनाइ छ। सञ्चारकर्मी तथा सञ्चारमाध्यमले प्रचलित कानुनको पालना गर्नुपर्ने भए पनि राज्यका निकायबाट हुने यस्ता कारबाहीले आफूहरूलाई चिन्तित तुल्याएको समितिले जनाएको छ।

समितिले हिरासतमा रहेका पत्रकार श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गरी त्रासदीपूर्ण वातावरणको अन्त्य गर्न माग गरेको छ। साथै, हिरासतमा रहेका अवस्थामा निजका परिवार तथा कानुन व्यवसायीलाई समेत भेट्न नदिइएको भन्ने समाचारप्रति ध्यानाकर्षण जनाउँदै संविधानप्रदत्त अधिकार सुनिश्चित गर्न सम्बन्धित सुरक्षा निकायलाई आग्रह गरेको छ।

नेपाल बार एसोसिएसनको मानव अधिकार तथा जनसरोकार समितिले नागरिकलाई संविधानले सुनिश्चित गरेको अधिकारबाट वञ्चित नगर्न सबै पक्षसँग आग्रह गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा जोड दिएको छ।

774099050_3699121160226376_3533072186675239417_n