लगानीकर्तालाई थप भार नपर्ने गरी पुँजी बढाउँदै नागरिक लगानी कोष

नागरिक लगानी कोषले भविष्यको वित्तीय आवश्यकता र कानुनी व्यवस्था मिलाउन अधिकृत पुँजी १० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव गरेको जनाएको छ।
बुधबार प्रतिनिधिसभाको अर्थ समिति बैठकमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले यस्तो जानकारी दिएका हुन्। उनले पुँजी बढाउन लगानीकर्तालाई तत्काल हकप्रद सेयरमार्फत थप रकम लगानी गर्न लगाउने उद्देश्य नरहेको स्पष्ट पारे। कोषले आफ्नो आम्दानीबाट बोनस सेयर जारी गर्दै क्रमशः पुँजी वृद्धि गर्ने योजना बनाएको उनको भनाइ थियो।

हाल कोषको पुँजी करिब ६ अर्ब रुपैयाँ पुगिसकेको उल्लेख गर्दै उनले लगानीकर्ताको रकम जोखिम विश्लेषण गरेर स्पष्ट नीतिअनुसार परिचालन गरिने बताए। लगानीबाट प्राप्त प्रतिफलमध्ये व्यवस्थापन शुल्क कटाएर बाँकी रकम लगानीकर्तालाई नै उपलब्ध गराइने उनले जानकारी दिए।