प्रधानसेनापति सिग्देल र भारतीय स्थल सेनाध्यक्ष सेठबीच भेटवार्ता

प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच सोमबार सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल-भारतबीचको सैन्य सम्बन्ध, आपसी हित तथा पारस्परिक सहयोगका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

प्रधानसेनापति सिग्देलको निमन्त्रणामा आइतबार काठमाडौं आएका जनरल सेठले सोमबार टुँडिखेलस्थित सैनिक मञ्चमा वीर सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै माल्यार्पण गरेका थिए। त्यसपछि उनले जंगी अड्डामा आयोजित विशेष समारोहमा गार्ड अफ अनर ग्रहण गरेका थिए। नेपाल भ्रमणका क्रममा जनरल सेठले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको सम्मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्नसमेत प्राप्त गर्ने कार्यक्रम रहेको छ।

जनरल सेठको भ्रमणलाई नेपाल–भारतबीचको परम्परागत सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।