रमेश लेखकः पार्टी मिलाउने जिम्मेवारी अब गगनजीको हो, नमिले जे पनि हुन सक्छ’

नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीभित्रको एकता कायम गर्ने मुख्य जिम्मेवारी सभापति गगनकुमार थापाको भएको बताएका छन् । देउवा समूहको राष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाडौं आएका कञ्चनपुरका नेता-कार्यकर्तासँग आज नयाँ बानेश्वरस्थित आनन्दभूमि इभेन्टमा भएको छलफलमा लेखकले पार्टी एकताका लागि अब सभापति थापाले अग्रसरता लिनुपर्ने बताएका हुन् । उनले भने, ‘मिलाउने जिम्मेवारी अब गगनजीको छ । मिलाउन नलागे जे पनि हुन सक्छ ।’ लेखकका अनुसार देउवा समूहले पार्टीलाई एकताबद्ध बनाउन आफ्नो तर्फबाट सक्दो प्रयास गरे पनि अपेक्षित परिणाम आउन सकेन । पार्टी मिलाउन आफ्नो पक्षबाट कुनै कमी नरहेको उनको दाबी थियो ।

पार्टी एकताकै प्रयासस्वरूप पूर्वसभापति शेरबहादुर देउवाले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएको र निर्वाचन प्रयोजनका लागि आवश्यक हस्ताक्षर गर्ने अधिकारसमेत खड्कालाई सुम्पिएको लेखकले बताएका छन् । देउवाले पार्टी सभापतिका रूपमा ठूलो जनमतसहित निर्वाचित भए पनि पार्टी एकताका लागि आफ्नो हस्ताक्षरको अधिकारसमेत छोड्न तयार भएको लेखकको भनाइ थियो । ‘शेरबहादुर दाइको हस्ताक्षरमा चुनाव जित्न नसकिने कुरा आयो । त्यत्रो बहुमत प्राप्त गरेर जितेका सभापतिलाई तपाईं टिकटमा हस्ताक्षर नगर्नुस् भन्नु सजिलो थियो ? तर, पार्टी मिलाउनका लागि हस्ताक्षर छोडिदिनुस् भन्यौं । उहाँले पूर्णबहादुर दाइलाई छोडिदिनुभयो,’ उनले भने । ‘अद्यावधिक गरेका र नगरेकालाई अलग नमान्नुस ।’

छलफलका क्रममा लेखकले कञ्चनपुरका नेता–कार्यकर्तालाई पार्टी सदस्यता अद्यावधिक गरेका कार्यकर्तासँग सम्पर्क बढाउन आग्रह गरे । उनले अद्यावधिक गरेका सदस्यलाई देउवा समूहको पक्षमा जोड्ने गरी सक्रिय हुन निर्देशन समेत दिएका छन् । ‘अद्यावधिक गरेकासँग सम्पर्क बढाउनुस् । हामी उभिएको ठाउँमा ल्याउनुस्,’ लेखकले भने, ‘आजदेखि अद्यावधिक गरेका र नगरेकाहरू अलग हुने कुरा छैन।’

साथै, लेखकले कञ्चनपुर कांग्रेसका सभापति पदम बोगटीलाई दसैं–तिहारको बीचमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा कार्यक्रम आयोजना गर्न तयारी गर्न आग्रह गरेका छन् । कार्यक्रममा आफू र नेता एनपी साउद पनि सहभागी हुने बताउँदै उनले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा पुग्ने योजना सुनाए ।