कांग्रेसका निर्वाचन अधिकृतलाई आज प्रशिक्षण दिइँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र पार्दै केन्द्रीय निर्वाचन समितिले जिल्लामा खटाइएका निर्वाचन अधिकृतलाई प्रशिक्षण दिने भएको छ।
समितिका अनुसार मंगलबार दिउँसो २ बजे सानेपामा प्रशिक्षण कार्यक्रम आयोजना हुँदैछ। महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा निर्वाचन प्रक्रिया सञ्चालन गर्न जिम्मेवारी पाएका अधिकृतलाई निर्वाचनसम्बन्धी प्रक्रिया, जिम्मेवारी र आवश्यक तयारीबारे प्रशिक्षण दिइनेछ।

केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले प्रशिक्षण कार्यक्रममा पार्टी सभापति गगन थापा पनि सहभागी हुने जानकारी दिए। कांग्रेस केन्द्रीय कार्यसमितिले १५औँ केन्द्रीय महाधिवेशन आगामी १६ देखि १९ असोजसम्म गर्ने निर्णय गरिसकेको छ। महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टीले निर्वाचनसम्बन्धी तयारीलाई पनि अघि बढाएको हो।

जिल्लास्तरमा अधिवेशन तथा निर्वाचन प्रक्रिया व्यवस्थित र एकरूप बनाउन निर्वाचन अधिकृतको भूमिका महत्वपूर्ण हुने भएकाले प्रशिक्षणलाई तयारीको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।