अब संघीय कर्मचारीलाई १५ दिनमै तलब, सरकारको नयाँ व्यवस्था लागू हुँदै

संघीय सरकारअन्तर्गत कार्यरत कर्मचारीले अब हरेक १५ दिनमा तलब तथा भत्ता पाउने भएका छन्। सरकारले अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने निर्णय कार्यान्वयनमा लैजान लागेको हो। महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तिभरण व्यवस्थापन कार्यालय तथा कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्र पठाउँदै नयाँ व्यवस्थाबारे जानकारी गराएको छ।अर्थ मन्त्रालयले गत वैशाखमै संघीय सरकारअन्तर्गतका कर्मचारीलाई अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने निर्णय गरेको थियो।

तर, आवश्यक प्रणाली तयार नभएका कारण निर्णय तत्काल कार्यान्वयन हुन सकेको थिएन। अब भने हरेक महिनाको १५ दिन पूरा भएपछि पहिलो चरणको तलब तथा भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाइने भएको छ। बाँकी १५ दिनको रकम पनि सोहीअनुसार अर्को चरणमा उपलब्ध गराइनेछ। महालेखा नियन्त्रक कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र पर्ने संघीय निकायबाट अर्धमासिक तलब तथा भत्ता भुक्तानीका लागि निकासा माग भए आवश्यक व्यवस्था मिलाउन कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्देशन दिएको छ।

सरकारले अर्धमासिक तलब भुक्तानीको सुरुवात अर्थ मन्त्रालयबाट गरेको थियो। चालु आर्थिक वर्षदेखि नै सबै संघीय निकायमा यो व्यवस्था विस्तार गर्ने योजना रहे पनि प्रणाली विकासलगायत तयारीका कारण कार्यान्वयन करिब एक महिना ढिलो भएको हो। नयाँ व्यवस्थाले संघीय कर्मचारीलाई मासिक तलबका लागि महिनाको अन्त्यसम्म कुर्नुपर्ने अवस्था हट्ने सरकारको अपेक्षा छ।