बिजुलीको भ्याट हटाउन सांसद आचार्यको सरकारसँग माग

प्रतिनिधिसभाका सांसद मोहनलाल आचार्यले बिजुलीमा सरकारले लगाएको भ्याट तत्काल हटाउन माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद आचार्यले ग्यासको सहज आपूर्ति र बिजुलीमा लगाइएको भ्याट फिर्ता गर्न सरकारसँग माग गरे ।

उनले भने, ‘माननीय मन्त्रीज्यूले संसदमा ग्यासको अभाव नभएको भन्नुभएको थियो । तर, धेरै जिल्लाहरूमा अहिले पनि ग्यासको अभाव छ । ग्यास आपूर्तिको सहज आपूर्तिको व्यवस्था गर्ने र लुकाइएको वा कालोबजारीकरण भएको छ भने त्यसको उचित छानबिन र कारबाही गर्न पनि म सरकारसँग माग गर्दछु । साथै, ग्यासको विकल्पमा वैकल्पिक ऊर्जाको व्यवस्था गर्न पनि म सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गर्दछु’, आचार्यले भने ।

सोही अवसरमा सांसद आचार्यले सरकारले बजेटमार्फत लगाएको बिजुलीमा ५ प्रतिशत भ्याटको व्यवस्थासमेत तत्काल खारेज गर्न सभामुखमार्फत सरकारसँग माग गरे ।