‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका-२ स्थित मुक्तिनाथ च्यवनधाममा जारी बोलबम धार्मिक महोत्सवलाई आज सम्बोधन गर्दै महामन्त्री पौडेलले पछिल्लो समय युवापुस्तामा पनि आध्यात्मिक शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गरे । उनले आध्यात्मिक ज्ञान र संस्कारले व्यक्तिको चरित्र निर्माणसँगै समाजमा सकारात्मक सोचको विकास गर्न सहयोग पुग्ने धारणा राखे ।

मुक्तिनाथ च्यवनधामलाई धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । च्यवनधामको विकाससँगै प्रचारप्रसार गर्न सके धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने भएकाले आवश्यक पूर्वाधार निर्माणमा सबै पक्षको सहयोग र सहकार्य आवश्यक पर्ने उनको भनाइ छ ।

महामन्त्री पौडेलले भने, “आध्यात्मिक शिक्षा वृद्धवृद्धाका लागि मात्र हो जस्तो गरी बुझिएको छ, वास्तवमा यो शिक्षा जीवन पद्धतिसँग जोडिएको विषय हो । यसलाई कसरी व्यवहारमा उर्तार्ने, के गर्ने र के नगर्ने यसबाट सिक्न सकिन्छ ।”

मुक्तिनाथ च्यवनधाममा जारी बोलबम धार्मिक महोत्सव भदौ ८ गतेसम्म सञ्चालन हुनेछ । च्यवनधामका अध्यक्ष अर्जुन लम्सालका अनुसार च्यवनधामको पूर्वाधार विकासका लागि रकम सङ्कलन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवमा धार्मिक अनुष्ठान, पूजापाठ तथा विभिन्न आध्यात्मिक कार्यक्रम सञ्चालन भइरहेका छन् ।