बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाको विषयमा मधेश जागरण अभियानले गृहमन्त्री सुधन गुरुङलाई २४ घण्टे अल्टिमेटम दिएको छ । अभियानका संयोजक कृष्ण मोहन सहनीले जारी गरेको विज्ञप्तिमार्फत गृहमन्त्री गुरुङलाई घटनास्थलमा स्वयं उपस्थित भएर पीडित परिवारसँग प्रत्यक्ष संवाद गर्न माग गरिएको हो ।
गरिमा चौधरीको नृशंस हत्याले समग्र मधेश प्रदेश शोकाकूल तथा आक्रोशित बनेको भन्दै अभियानले घटनामा संलग्न दोषीलाई संरक्षण दिने तथा पीडित परिवारलाई न्याय दिलाउने विषयमा सरकार गम्भीर नदेखिएको आरोप लगाएको छ । अभियानले गृहमन्त्रीले पीडित परिवारप्रति सहानुभूति प्रकट गर्ने, घटनाको सत्यतथ्य छानबिन गर्ने, दोषीलाई खोजी गरी कडा कारबाही गर्ने तथा परिवारलाई न्याय दिलाउने दायित्वबाट पन्छिन नहुने जनाएको छ ।
२४ घण्टाभित्र गृहमन्त्री घटनास्थलमा उपस्थित नभए त्यसलाई सरकारको गैरजिम्मेवारी, पीडितप्रतिको असंवेदनशीलता र अपराधी संरक्षणको खुला घोषणाका रूपमा लिने अभियानले चेतावनी दिएको छ । त्यसपछि चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने अभियानको भनाइ छ । अभियानले पीडितलाई न्याय नदिने र अपराधीलाई संरक्षण गर्ने कार्य बन्द गर्न, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा पीडित परिवारलाई सुरक्षा, सम्मान र न्याय दिलाउन सरकारसँग माग गरेको छ ।
‘न्यायमा ढिलाइ गर्नु अन्याय हो । न्याय नदिएसम्म मधेश जागरण अभियान चुप लागेर बस्ने छैन,’ विज्ञप्तिमा भनिएको छ ।


















