नेपाली दूतावास पुगेर भारतका तर्फबाट बाढीपीडितप्रति समवेदना !

भारतका तर्फबाट नेपाली दूतावास, नयाँ दिल्ली पुगेर नेपालमा हालै आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । २६ अगस्ट २०२६ मा आएको आकस्मिक बाढीका कारण नेपालमा भएको ठूलो जनधनको क्षतिप्रति भारत सरकार र भारतीय जनताका तर्फबाट नेपाल सरकार तथा नेपाली जनताप्रति समवेदना व्यक्त गर्दै शोक पुस्तिकामा हस्ताक्षर गरिएको हो ।

बाढीबाट नेपाली नागरिकसँगै भारतीय नागरिकसहित अन्य विदेशी नागरिकसमेत प्रभावित भएको जनाइएको छ। विपद्मा ज्यान गुमाउनेहरूका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । भारतले नेपाललाई आफ्नो घनिष्ठ मित्र र साझेदारका रूपमा उल्लेख गर्दै सुख–दुःखमा सधैं साथमा रहने प्रतिबद्धता दोहोर्‍याएको छ ।

कठिन परिस्थितिमा नेपाली नागरिकसँग काँधमा काँध मिलाएर उभिएको जनाउँदै भारतले खोज, उद्धार तथा पुनस्र्थापनाका लागि नेपालको प्रयासमा सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ ।