अमेरिकी आक्रमणपछि इरानद्वारा इराक र जोर्डनस्थित अमेरिकी सैन्य बेसमा प्रहार

अमेरिकाले मंगलबार इरानविरुद्ध पुनः आक्रमण सुरु गरेपछि इरानले इराक र जोर्डनस्थित अमेरिकी सैन्य बेसहरूलाई लक्षित गरी आक्रमण गरेको छ। दक्षिणी इरानको सिरिकमा अमेरिकी क्षेप्यास्त्र आक्रमणको छर्राले विवाह समारोह भइरहेको घरमा लाग्दा एक बालकसहित चार जनाको मृत्यु भएको इरानी रेड क्रसले जनाएको छ । घटनामा ५० भन्दा बढी घाइते भएका छन् ।

इरानको अर्ध–सरकारी समाचार संस्था तस्निमका अनुसार सिरिक आक्रमणको बदलामा बुधबार बिहान जोर्डनको अकबास्थित अमेरिकी मरीन बेसमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको छ । जोर्डनको सशस्त्र बलले १३ वटा ब्यालिस्टिक क्षेप्यास्त्र रोकेको र जसमध्ये १० वटालाई नष्ट गरिएको तथा तीन वटा दुर्गम क्षेत्रमा खसेको जनाएको छ।

इरानको यस आक्रमणबाट कुनै मानवीय क्षति नभएको जोर्डनले पुष्टि गरेको छ।यसैबिच कुवेती सेनाले बुधबार बिहान इरानी क्षेप्यास्त्र आक्रमणको प्रतिकार गरिरहेको जनाएको छ। इरानको आक्रमणपछि बहराइनमा पनि धेरै विष्फोटहरू भएका छन्।