रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नुवाकोटमा अवरुद्ध विद्युत् आपूर्ति ९० प्रतिशतसम्म पुनर्स्थापित भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको हो । ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नुवाकोटका करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको उल्लेख छ।
मन्त्रालयका अनुसार चपली–देवीघाट दायाँ सर्किट चार्ज भएपछि नुवाकोटका थप क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको हो । हाल जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पहिलेभन्दा बढी भरपर्दो भएसँगै भोल्टेजसमेत सुधारिएको मन्त्रालयले जनाएको छ। हाल विद्युत् आपूर्ति चार्ज भएका क्षेत्रमा विदुर नगरपालिकाको वडा नम्बर ६ तथा विदुर नगरपालिका वडा नम्बर ३ को करिब आधा क्षेत्र, तारकेश्वर नगरपालिकाको वडा नम्बर–१, ५ र ६, तारकेश्वर नगरपालिकाकै वडा नम्बर–२ र ३, बेलकोटगढी नगपालिकाको वडा नम्बर–७ रहेका छन् । साथै थप ३१ वटा ट्रान्सफर्मर समेत चार्ज गरिएको विवरणमा उल्लेख छ।
तर विदुर नगरपालिका वडा नम्बर–१२ र विदुर नगरपालिकाको वडा नम्बर–३ को बाँकी आधा क्षेत्र, किस्पाङ गाउँपालिका, बेलकोटगढी नगरपालिका वडा नम्बर–८ र विदुर नगरपालिका वडा नम्बर–१० मा विद्युत् आपूर्ति पुनःस्थापना गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ। ऊर्जा मन्त्रालयले नुवाकोटमा विद्युत् संरचनामा आएको क्षतिपछि आपूर्ति पुनःसुचारु गर्न संरचना मर्मत तथा पुनःस्थापनाको काम अघि बढाएको जनाएको छ।


















