कोरला नाकाबाट आएका सामान अब सिधै चोभार भन्सारमा जाँचपास

मुस्ताङको कोरला नाकाबाट पैठारी हुने वस्तु अब मुस्ताङमै जाँचपास नगरी काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गर्न सकिने भएको छ। भन्सार विभागले आन्तरिक परिवहनको सुविधा दिँदै कोरला नाकाबाट काठमाडौंसम्म सामान ढुवानीका लागि निश्चित सडक मार्गसमेत तोकेको छ। यो सुविधा भन्सार नियमावलीमा तोकिएका सर्त तथा प्रक्रिया पालना गरी अर्को निर्णय नभएसम्म लागू हुने विभागले जनाएको छ।

विभागका अनुसार कोरला नाकाबाट प्रवेश गर्ने मालवाहक सवारीले नेचुङ-छुसाङ-कागवेनी-जोमसोम-बेनी-कुस्मा-पोखरा-दमौली-मुग्लिङ-कुरिनटार-नौबिसे-कलंकी हुँदै चोभार सुक्खा बन्दरगाह पुग्नुपर्नेछ। उक्त रुटमा समस्या आए वैकल्पिक रूपमा मुग्लिङ-नारायणघाट-हेटौंडा-भैंसे-नौबिसे-कलंकी हुँदै चोभार पुग्ने मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

त्यसैगरी, गुडाएर ल्याइने नयाँ सवारीसाधनका लागि तत्काल हेटौंडातर्फको रुट प्रयोग गर्नुपर्नेछ। रसुवागढी नाका बाढीका कारण प्रभावित भएपछि चीनसँगको व्यापारका लागि पछिल्लो समय मुस्ताङको कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ। नयाँ व्यवस्थाले कोरला हुँदै भित्रिने सामानको भन्सार प्रक्रिया काठमाडौंमै पूरा गर्न सहज हुने अपेक्षा गरिएको छ।