विद्यार्थी संगठनहरूले गरे आयल निगमको मुख्यालय घेराउ

खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनले शुक्रबार नेपाल आयल निगमको मुख्यालय घेराउ गरेका छन्। ग्यासको मूल्य वृद्धि भए पनि बजारमा सहज रूपमा उपलब्ध हुन नसकेको भन्दै विद्यार्थीहरूले निगमको मुख्यालयअगाडि प्रदर्शन गरेका हुन्।

विद्यार्थीहरूले “घरमा हाम्रो बास छैन, किनभने ग्यास छैन” लगायतका नारा लगाउँदै थाल तथा खाली ग्यास सिलिन्डरसहित प्रदर्शन गरेका थिए। उनीहरूले बजारमा ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न आयल निगमसँग माग गरेका छन्। यता, नेपाल आयल निगमले भने पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक क्षतिग्रस्त भएपछि नियमित ढुवानी प्रभावित भएको बताउँदै आएको छ। सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गरी ग्यास आपूर्ति गर्ने व्यवस्था गरिएको निगमको दाबी छ।

निगमका अनुसार सडक नियमित रूपमा सञ्चालनमा नआएसम्म तराई क्षेत्रका उद्योगमा सिलिन्डर भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं उपत्यकामा ग्यास ल्याउने व्यवस्था गरिएको छ। तर, निगमले वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्था गरिएको दाबी गरे पनि बजारमा ग्यासको अभाव कायमै देखिएको छ। आपूर्ति तथा वितरणको तथ्यांकअनुसार समेत बजारमा मागअनुसार ग्यास उपलब्ध हुन नसकेको अवस्था देखिएको छ। ফলে उपभोक्ता थप समस्यामा परेका छन्।