काठमाडौं । नेपाल गृहस्थ धर्म सेवा सदनको आयोजनामा कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनको अवसर पारेर पिता सम्मान तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। मिति २०८३ साल भदौ २६ गते आयोजित कार्यक्रममा पिताको सम्मानसँगै भोटेकोसीलगायत विभिन्न स्थानमा हालै आएको बाढी–पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रमको अध्यक्षता नेपाल गृहस्थ धर्म सेवा सदनका अध्यक्ष आचार्य गुरु तुलसीराम पोखरेलले गर्नुभएको थियो। उहाँले पिताको महत्त्व, परिवार तथा समाज निर्माणमा पिताले पुर्याउँदै आएको योगदान र सनातन वैदिक धर्ममा पितृसम्मानको विशेष स्थानबारे प्रकाश पार्नुभयो। उहाँले माता–पिताप्रति श्रद्धा, सेवा र सम्मान गर्नु नेपाली सनातन संस्कारको महत्वपूर्ण पक्ष भएको बताउनुभयो।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा गोंगबु आवास समितिका उपाध्यक्ष अनिल श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि गोंगबु आवास क्षेत्रका पूर्वअध्यक्ष हरि कर्माचार्यले सम्पूर्ण पिता तथा पितृजनमा कुशे औँसीको शुभकामना व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि पूर्वमन्त्री दीननाथ शर्माले कुशे औँसीको धार्मिक तथा सांस्कृतिक महिमाबारे चर्चा गर्नुभयो। उहाँले पितृस्मरण र पितृसम्मान नेपाली समाजको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परा भएको बताउनुभयो।
त्यस्तै, समाजसेवी तथा गोंगबु आवास क्षेत्रका पूर्वअध्यक्ष महेश्वरकुमार श्रेष्ठले नेपाल गृहस्थ धर्म सेवा सदनले धार्मिक तथा सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानबारे चर्चा गर्नुभयो।
कार्यक्रमलाई सफल बनाउन गोंगबु आवास क्षेत्र दिदीबहिनी समूह, मित्रनगरकी अध्यक्ष, संस्थाका उपाध्यक्ष कृष्ण थापा, गुरुआमा भीमाकान्ति पोखरेल, रेणु खराल, मिथिला कर्माचार्य, उषा श्रेष्ठ तथा राधा घिमिरेलगायतको विशेष सहयोग रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको सञ्चालन संस्थाकी सचिव सरस्वती जिसीले गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा भोटेकोसीलगायत विभिन्न स्थानमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन गरिएको थियो। सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए



















