संयुक्त राष्ट्रसङ्घको महासभामा अमेरिकाले गरेको मतदानको आलोचना गर्दै गरिएको अनलाइन पोस्टप्रति फ्रान्सको राष्ट्रसङ्घीय नियोगले खेद व्यक्त गरेको छ । अमेरिकी अधिकारीले शनिबार एएफपीलाई बताएअनुसार, वासिङ्टनले फ्रान्सको उक्त कदमको स्वागत गरेको छ ।
मानव अधिकारप्रतिको अमेरिकाको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै सामाजिक सञ्जाल ‘एक्स’ मा गरिएको पोस्टप्रति फ्रान्सका लागि संयुक्त राष्ट्रसङ्घको स्थायी नियोगले शुक्रबार माफी मागेको हो । नियोगले आफ्नो वेबसाइटमा अङ्ग्रेजी भाषामा जारी गरेको विज्ञप्तिमा भनेको छ, “फ्रान्स र अमेरिकाले हालै संयुक्त राष्ट्रसङ्घको महासभामा भएको मतदानमा फरक–फरक अडान लिएका थिए । यो भिन्नता एउटा विशेष मतदानसँग सम्बन्धित थियो, मानव अधिकारको रक्षासँग होइन ।”
विज्ञप्तिमा थप भनिएको छ, “एउटा मतदानमा देखिएको सार्वजनिक मतभेदले अमेरिकासँगको घनिष्ठ संवादमा बाधा पुर्याउँदैन । साथै, यसले हाम्रो ऐतिहासिक गठबन्धन वा बहुपक्षीय मञ्चहरूमा शान्ति, स्थिरता र समृद्धि प्रवद्र्धन गर्न सँगै काम गर्ने हाम्रो क्षमतामाथि कुनै प्रश्न खडा गर्दैन ।” यस विवादका कारण अमेरिकाले फ्रान्सको नयाँ राजदूतको नियुक्तिलाई स्वीकृति दिन रोकिराखेको अवस्थामा वासिङ्टनले फ्रान्सको पछिल्लो वक्तव्यलाई सकारात्मक रूपमा लिएको छ ।
“हामी फ्रान्सको भनाइलाई ध्यानमा राख्दै त्यसको सराहना गर्छौँ र साझा मूल्य–मान्यता तथा हितहरूलाई अघि बढाउन सँगै काम गर्न तत्पर छौँ”, अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले नाम नछाप्ने सर्तमा एएफपीलाई बताए।
अमेरिकी विदेश मन्त्रालयले फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले वासिङ्टनका लागि नयाँ राजदूतका रूपमा चयन गरेका ओरेलियन लेचेभलियरको नियुक्ति रोकिराखेको छ । उहाँले लरेन्ट बिलीको स्थान लिने प्रस्ताव गरिएको छ । लेचेभलियर हाल फ्रान्सका विदेशमन्त्री जीन–नोएल बारोटका प्रमुख सहयोगी ९चिफ अफ स्टाफ० हुन् ।
फ्रान्सेली राजदूतको नियुक्तिमा अमेरिकाको स्वीकृति सामान्यतया औपचारिक प्रक्रिया मात्र हुने गर्दथ्यो । तर पछिल्लो विवादका कारण नियुक्ति प्रक्रिया अहिले अनिश्चित बनेको छ । गत २४ जुलाईमा, संयुक्त राष्ट्रसङ्घको मानव अधिकार प्रमुखका रूपमा भोल्कर टर्कको कार्यकाल थप्ने प्रस्तावमाथि भएको मतदानमा अमेरिकाले विपक्षमा मतदान गरेको थियो । उत्तर कोरिया, रुस र निकारागुवासहित दश देशले प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।
त्यसपछि फ्रान्सेली नियोगले ‘एक्स’ मा गरेको पोस्टमा लेखेको थियो, “अमेरिका कुनै समय मानव अधिकारको ज्योति थियो । अब त्यस्तो रहेन ।” राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकी नीतिमाथि बारम्बार प्रश्न उठाउँदै आएका टर्कको कार्यकाल थप्ने प्रस्तावको अमेरिकाले कडा विरोध गरेपछि उक्त पोस्ट गरिएको थियो ।
फ्रान्सेली नियोगको आलोचनाप्रति वासिङ्टनले तत्काल कडा प्रतिक्रिया जनाएको थियो । त्यसको केही दिनपछि फ्रान्सेली राजदूतले मन्तव्य राख्न थालेका बेला एक अमेरिकी प्रतिनिधिले विरोधस्वरूप संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकबाट बाहिरिएर असन्तुष्टि जनाएको थियो ।


















