मधेशमा आइओईको नयाँ क्याम्पस खोल्ने सरकारको तयारी

सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) को नयाँ आङ्गिक क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ। शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार मधेशका विद्यार्थीलाई इन्जिनियरिङ अध्ययनका लागि अन्य प्रदेश जानुपर्ने बाध्यता हटाउँदै प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न क्याम्पस खोल्न लागिएको हो।

क्याम्पस स्थापनाका लागि उपयुक्त स्थान छनोट गर्न विशेष अध्ययन समिति गठन गरिनेछ। आगामी तीन वर्षभित्र पठनपाठन सुरु गर्ने लक्ष्यसहित आन्तरिक तयारी भइरहेको मन्त्री पोखरेलले बताएका छन्। नयाँ क्याम्पसलाई शिक्षासँगै अनुसन्धान, नवप्रवर्तन, आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने सरकारको योजना छ।