नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनलाई लक्षित गर्दै कुनै पनि सदस्य वञ्चित हुनु नपर्ने गरी सांगठनिक व्यवस्था गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता देवराज चालिसेले अधिवेशनबाट कुनै पनि सदस्य वञ्चित हुनु नपर्ने गरी सांगठनिक व्यवस्था मिलाइएको जानकारी दिए ।
‘गत भदौ २८ गतेको बैठकले सदस्यता नवीकरण भएका र अधिवेशन प्रक्रियामा जोडिएका सम्पूर्ण सदस्यहरूलाई सहभागी गराउने निर्णय गरिसकेको छ । सदस्यताको नाममा अब कुनै पनि साथीहरू अधिवेशनबाट वञ्चित हुने अवस्था रहँदैन,’ प्रवक्ता चालिसेले भने ।
उनले पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई समेत आगामी महाधिवेशनमा पूर्ण रूपमा सक्रिय र समावेशी रूपमा सहभागी गराउने गरी व्यवस्था गरिएको बताए । बैठकले पार्टीको विधानबमोजिम वडा अधिवेशनदेखि केन्द्रसम्मका सबै तहमा समानुपातिक र सहभागितामूलक वातावरण निर्माण गर्ने दिशामा जोड दिएको उनले बताए ।


















