बाढी प्रभावितका लागि १३ लाख सहयोग

भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुन:स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले हिमालय एयरलाइन्समा कार्यरत कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १३ लाख सहयोग गरेका छन् । हिमालय एयरलाइन्सका उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेललाई सहयोग रकमको चेक हस्तान्तरण गरे ।

एयरलाइन्सका अनुसार कर्मचारीले स्वेच्छिक रूपमा रु १४ लाख ७० हजार ६६६ रकम सङ्कलन गरेको र सो रकममध्ये १० प्रतिशत रकम विपद्बाट प्रत्यक्ष प्रभावित हिमालयका कर्मचारीको परिवारलाई प्रत्यक्ष सहयोगस्वरूप उपलब्ध गराइएको छ भने बाँकी रु १३ लाख २० हजार ६६६ नेपालमा हालैको बाढीबाट प्रभावित पीडितहरूको राहत तथा पुन:स्थापना कार्यमा सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठले बाढी प्रभावित नागरिकहरूको राहत तथा पुन:स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कर्मचारीकातर्फबाट सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उल्लेख गरे।