अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई)को तीव्र विकासलाई निरन्तरता दिन ‘एआई फोर्स’ गठन गर्ने घोषणा गरेका छन्। ट्रम्पले चाँडै नै अमेरिकामा एआईसम्बन्धी प्रमुख अधिकारीका रूपमा ‘एआई जार’ नियुक्त गर्ने पनि बताएका छन्। उनले शनिबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’मार्फत एआईका कारण मानव अस्तित्वमा खतरा उत्पन्न हुन सक्ने भन्दै फैलाइएको डरलाई ‘छल’को संज्ञा दिएका हुन्।
अमेरिकामा एआई विकासलाई कुनै पनि किसिमले अवरोध वा निरुत्साहित नगर्ने ट्रम्पको भनाइ छ। उनले एआई उद्योगलाई सरकारका तर्फबाट सहयोग र प्रोत्साहन गरिने बताएका छन्। ‘हामी यस अविश्वसनीय उद्योगको विकासलाई कुनै पनि हिसाबले बाधा पुर्याउने वा निरुत्साहित गर्ने छैनौँ। बरु, हामी यसलाई कदर गर्नेछौँ, मद्दत गर्नेछौँ र यो बढ्दै जाँदा यसको हेरचाह गर्नेछौँ,’ ट्रम्पले भनेका छन्।
ट्रम्पले चीनसँग एआई क्षेत्रमा प्रतिस्पर्धा गर्न अमेरिकाले आफ्नो क्षमता थप विस्तार गर्नुपर्ने बताएका छन्। यसै क्रममा उनले आफ्नो पहिलो कार्यकालमा गठन गरेको ‘स्पेस फोर्स’ जस्तै एआई क्षेत्रमा पनि नयाँ संरचना निर्माण गर्ने योजना अघि सारेका हुन्।


















