ओलीको आरोप– जेनजी आन्दोलनपछि नेपालमा बाह्य चलखेल बढ्दै गयो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीेले जेनजी आन्दोलनपछि नेपालमा बाह्य चासो र चलखेल बढ्दै गएको आरोप लगाएका छन् । सोमबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ । जेनजी आन्दोलनको क्रममा निजी सम्पतिमा समेत देशव्यापी रुपमा आगजनी गर्ने एवम् लुटपाट गर्ने कार्यलाई क्रान्ति या परिवर्तन मान्न नसकिने ओलीको भनाइ छ ।

‘यी घटनाहरूमा सत्ता परिवर्तनको उद्देश्यले बाह्य रुपमा प्रायोजित रणनीतिको स्पष्ट छाप देखिन्छ,’ ओलीले आफ्नो प्रतिवेदनमा लेखेका छन्, ‘हालै विभिन्न विदेशी सञ्चार माध्यममा आएका नयाँ तथ्यहरूले नेपालको आन्तरिक राजनीतिमा भूराजनीतिक स्वार्थहरू कसरी प्रकट भएका थिए भन्ने तथ्यलाई पुष्टि गर्दै लगेका छन् ।’

साथै, नेपालको भूमिबाट छिमेकीहरूका संवेदनशीलतामाथि आँच पुर्‍याउने काम सरकारकै संरक्षणमा भइरहेको आरोप पनि उनले लगाएका छन् । ‘त्यस घटना यता नेपालमा बाह्य चासो र चलखेल बढ्दै गएको छ । नेपालको भूमिबाट छिमेकीहरूका संवेदनशीलतामाथि आँच पुरÞ्याउने काम सरकारकै संरक्षणमा भइरहेका छन्,’ ओलीले आफ्नो प्रतिवेदनमा लेखेका छन् ।

साथै, उनले नेपालका मूल्यवान खनिज सम्पदाका बारेमा पछिल्लो समय आइरहेका संवेदनशील सूचना र समाचारले आम नेपालीलाई सशङ्कित बनाएको पनि उल्लेख गरेका छन् ।