दुई दिन पछि सर्‍यो कांग्रेस महाधिवेशन

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई दिन पछि सरेको छ । कांग्रेसले मंगलबार जारी गरेको विज्ञप्तिमा १५औँ महाधिवेशनको उद्घाटन समारोह १८ असोजको दिउँसो २ बजे काठमाडौं‌को खुलामञ्चमा हुने जनाइएको छ । यसअघि १६ असोजमा महाधिवेशनको उद्घाटन गर्ने तय भएको थियो । पछिल्लो बाढीपहिरोलगायत घटनाका कारण उद्घाटन समारोहको मिति सारिएको कांग्रेसले जनाएको छ ।

‘नेपाली कांग्रेस १५औँ महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘यसै बीचमा देशमा विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको छ । यस परिस्थितिलाई मध्येनजर गरी १५औँ महाधिवेशन उद्घाटन समारोह २०८३ असोज १८ गते २ बजे खुलामञ्चमा हुने व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’