मुगुको मुगम कार्मारुङ गाउँपालिकाबाट पेमा वाङजुक लामा सबैभन्दा कम उमेरको महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ। उहाँलाई पार्टीका सम्पूर्ण नेतृत्व र प्रतिनिधिहरूले सर्वसम्मत रूपमा जिम्मेवारी सुम्पेका हुन्।
लामाले अब केन्द्रमा युवाका भावना र मुगुका जल्दाबल्दा मुद्दाहरूलाई सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाउनुभएको छ।नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत मुगु जिल्लामा उत्साहजनक रूपमा नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसै क्रममा हिमाली जिल्ला मुगुको मुगम कार्मारुङ गाउँपालिका वडा नम्बर ७ का युवा नेता पेमा वाङजुक लामा गाउँपालिकाकै सबैभन्दा कम उमेरको महाधिवेशन प्रतिनिधि (केन्द्रीय प्रतिनिधि) चयन हुनुभएको छ ।पार्टीभित्र युवाहरूको आकर्षण र प्रतिनिधित्व बढिरहेका बेला लामालाई मुगम कार्मारुङ गाउँपालिका क्षेत्रबाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन गरिएको हो । “जनताको भरोसा कांग्रेसको नेतृत्व” र “समृद्ध नेपाल, सशक्त नेपाली” भन्ने मूल नाराका साथ पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने अभियानमा उहाँको यो चयनलाई जिल्ला तहमा निकै महत्त्वका साथ हेरिएको छ ।
सबैभन्दा कम उमेरमा महत्त्वपूर्ण जिम्मेवारी पाएपछि प्रतिक्रिया दिँदै युवा नेता पेमा वाङजुक लामाले आफूलाई सर्वसम्मत रूपमा चयन गराउन भूमिका खेल्ने सम्पूर्ण नेतृत्वप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “मलाई अमूल्य विश्वास गरेर महाधिवेशन प्रतिनिधि जस्तो गरिमामय जिम्मेवारी सुम्पिनुहुने आदरणीय अग्रज मुगु जिल्लाका नेतागण, क्षेत्रीय प्रतिनिधिज्यूहरू, मुगुका ४५ वटै वडाका वडा सभापतिज्यूहरू तथा सम्पूर्ण क्रियाशील साथीहरूमा हार्दिक आभार व्यक्त गर्दछु । आगामी दिनमा युवाहरूको भावना र मुगुको मुद्दालाई केन्द्रसम्म प्रखर रूपमा उठाउने प्रतिबद्धता जनाउँछु ।”
पार्टीको नीति निर्माण तह र आसन्न केन्द्रीय महाधिवेशनमा युवाहरूको तर्फबाट सशक्त हस्तक्षेपकारी भूमिका खेल्ने भन्दै जिल्लाका नेता तथा कार्यकर्ताहरूले कान्छा प्रतिनिधि लामालाई सामाजिक सञ्जाल र प्रत्यक्ष भेटघाटमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिइरहेका छन् ।




















