‘निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ’ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले निष्ठामा आधारित राजनीति गर्दै पछाडि परेका नागरिकलाई अवसर दिएको भए आफू पनि कांग्रेसमै हुने बताएका छन्।

आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसले आफ्ना नीति र कार्यशैली सुधार गर्नुपर्ने सुझाव दिए। कांग्रेसको राजनीतिक शैलीप्रति असन्तुष्टि जनाउँदै उनले आफूलाई अहिलेको मञ्चमा प्रतिपक्षीका रूपमा उभिनुपरेको बताए।

सरकारको स्थायित्वबारे भइरहेका चर्चालाई टिप्पणी गर्दै लामिछानेले सरकार ढाल्ने हल्ला गर्नेहरू नै सरकार नढलेपछि निराश हुने दाबी गरे। उनले लोकतन्त्रलाई खतरा नरहेको जिकिर गर्दै आन्दोलनभन्दा निर्वाचनमार्फत सरकार परिवर्तन गर्ने बाटो अपनाउनुपर्नेमा जोड दिए।