सरकारले शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा ११औँ संशोधन नियमावली, २०८३ सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाख र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारीसाधन खरिद गर्न सक्नेछन् । त्यस्तै, माध्यमिक तृतीय श्रेणी तथा निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले चार लाख रुपैयाँसम्मको दुईपांग्रे सवारीसाधन खरिद गर्न सक्नेछन्।
सवारीसाधन खरिदका लागि बैंकमार्फत लिइने ऋणको लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज सरकारले व्यहोर्ने प्रस्ताव गरिएको छ। बाँकी २० प्रतिशत रकम भने शिक्षक आफैँले व्यवस्थापन गर्नुपर्नेछ।




















