नेपाली कांग्रेसका सभापति गगन थापाले २०७२ सालपछि मुलुकको राजनीति पूर्णतया सत्ता केन्द्रित भएको र १० वर्षमा दिनुपर्ने डेलिभरीमा चुक्दा भदौ २३ र २४ का घटनाहरू भएको बताएका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सभापति थापाले यस्तो धारणा राखेका हुन्।
बैठकमा सभापति थापाले नेपालमा आएको जनसाङ्ख्यिक परिवर्तन, बसोबास र अर्थतन्त्रमा आएको बदलाव तथा विश्वमा आएको नयाँ माध्यमको आगमनको सन्दर्भ उल्लेख गर्दै सोहीअनुसार १० वर्षमा डेलिभरी गर्नुपर्नेमा चुकिएको बताए।
उनले भदौ २३ र २४ गते भएका घटनालाई कम आँक्न नहुने निष्कर्ष निकालिएको जानकारी दिए। थापाले भने, “भदौ २३ मा भएको दमन र २४ गते भएको आपराधिक घटना हुन् भनेर हामीले महाधिवेशनबाट भनेका छौँ। भदौ २३ र २४ गते भएको घटनालाई अन्डरमाइण्ड गर्न हुन्न भन्ने निष्कर्ष निकालेका छौँ।”
नेपाली कांग्रेस राष्ट्रिय पार्टी भएकाले यस्ता घटनालाई अङ्कगणितमा मात्रै बुझेर नहुनेमा सभापति थापाले जोड दिए। राष्ट्रिय पार्टीले यस्ता घटनाको जरासम्म पुगेर कसरी समाधान गर्ने भन्ने रणनीति निकाल्नुपर्ने उनको भनाइ थियो।


















