नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्न नयाँ विधेयक संसद्मा दर्ता

नवीकरणीय ऊर्जाको विकास, विस्तार र ऊर्जा दक्षता बढाउने उद्देश्यसहित सरकारले नयाँ विधेयक संसद्मा दर्ता गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रतिनिधिसभामा दर्ता गरेको ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८३’ ले सौर्य, वायु, जैविक तथा जलस्रोतमा आधारित ऊर्जाको प्रवर्द्धन र प्रभावकारी उपयोगलाई प्राथमिकता दिएको छ।

विधेयक कार्यान्वयनमा आए नागरिकको ऊर्जामा पहुँच बढ्नुका साथै ऊर्जा बचत, संरक्षण र वातावरणीय प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने सरकारको अपेक्षा छ। जीवाश्म इन्धनको अत्यधिक प्रयोगबाट बढिरहेको हरितगृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनका असरलाई ध्यानमा राखेर विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ।