कास्कीकाे पोखरा महानगरपालिका–२८ माझठानमा शुक्रबार बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा चार विद्यार्थी र एक सर्वसाधारण छन् । बस सडकबाट करिब २०० मिटर तल खसेको हो ।
कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार मृत्यु हुनेमा तीन बालिका, एक बालक र एक स्थानीय छन् । मृतकको सनाखत हुन बाँकी रहेको उनले बताए ।
दुर्घटनाग्रस्त बसमा १७ जना बालबालिका र एक स्थानीय सवार थिए । घाइते १४ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।




















