महामन्त्रीमा पराजितपछि गुरुराज घिमिरेले भने- यो अन्त्य होइन, नयाँ सुरुवात हो

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता गुरुराज घिमिरेले राजनीतिक यात्रालाई नयाँ शिराबाट अघि बढाउने बताएका छन् ।
मतपरिणाम प्रतिकूल आएपछि उनले आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै अबको राजनीति फरक सोच, शैली र संस्कारसहित अघि बढाउने बताएका हुन् ।

‘लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया हो । म यस परिणामबाट विचलित नभई नयाँ शिराबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ घिमिरेले फेसबुकमा लेखेका छन्, ‘अबको राजनीति फरक सोच, फरक शैली र फरक संस्कारसहित अघि बढ्नेछ । जहाँ निष्ठा, विचार, संवाद, इमानदारी र पार्टी रूपान्तरण प्रमुख आधार हुनेछन् ।’

निवर्तमान महामन्त्री घिमिरेले आफूलाई मत दिने महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिँदै प्राप्त मतलाई संख्याका रूपमा मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको प्रेरणाका रूपमा लिएको बताएका छन् । ‘यहाँहरूले प्रदान गर्नुभएको एक हजार ५१३ मत मेरा लागि संख्या मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको ठूलो प्रेरणा हो,’ उनले लेखेका छन् ।