बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घर विद्युत्विहीन बनेका छन् । आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीले पालिकाको वडा नं ३ जगतस्थित सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बगाएको थियो ।
बाढीले जलविद्युत् आयोजना बगाएपछि चुमनुब्री गाउँपालिका वडा नं ३ र वडा नं ६ मा विद्युत् अवरुद्ध बनेको सिर्दिबास उहिया लघुजलविद्युत् आयोजनाका अध्यक्ष सुजन गुरुङले बताउनुभयो । गुरुङका अनुसार चुमनुब्रीको लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आंगा, सस्र्युँ, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयुँ, भालुवन, सिर्दिबास रजगतमा विद्युत् अवरुद्ध भएको हो । जसका कारण ९७१ घरधुरी प्रभावित बनेको उनले जानकारी दिए । “बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरू पनि कता पुर्यायो, पुर्यायो । पावर हाउस चाँही सुरक्षित छ,” उहाँले भन्नुभयो, “आइतबार बिहान ४:०० बजे बाढी आएदेखि यो भेगमा बिजुली छैन ।”
विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा परेको चुमनुब्रीको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटा बताउनुहुन्छ । उनका अनुसार विद्युत् र इन्टरनेट नहुँदा हाल पालिकाको प्रशासनिक काम ठप्प बनेको छ । निजी सङ्घसंस्थाहरू र स्थानीय नागरिकहरू पनि मर्कामा परेका उनको भनाइ छ ।
उनी भने, “बाढीले पुल बगायो, बाटो बगायो, बिजुली पनि बगायो । अहिलेको डिजिटल युगमा बिजुली नहुँदा सूचना आदनप्रदानमा समस्या भएको छ । हिजो बिहान फोनसम्पर्क गरेकै कारण सयौँ मानिसहरूको ज्यान जोगिएको हो ।” फिलिमको केही घरहरूमा जडान गरिएका सोलारमार्फत सबैजनाले मोबाइल चार्ज गर्ने र बाहिर फोन सम्पर्क गर्ने गरेका सापकोटाले बताए ।
हाल उत्तरी गोरखाको बाढी प्रभावित क्षेत्रमा एक गाउँबाट अर्को गाउँसम्म पुग्न सक्ने अवस्था समेत नरहेको चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङ बताए । “फिलिमबाट न तल जाने ठाउँ छ, न त माथि जाने । बाढीले पुल, बाटो सबै बगायो,” उनले भने, “झनै बिजुली पनि नहुँदा त यो ठाउँ अन्धकार बनेको छ । धन्न मानवीय क्षति भने भएको छैन ।” उत्तरी गोरखाको अधिकांश गाउँबस्तीमा बिजुली र इन्टरनेटको समस्या रहेको गुरुङको भनाइ छ ।
बाढीका कारण उत्तरी गोरखाको धार्चे गाउँपालिका झनै मर्कामा परेको छ । हाल गाउँपालिकाको सात वटै वडाका करिब चार हजार घर विद्युत्विहीन बनेका पालिकाको प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले जानकारी दिए । विद्युत् प्राधिकरणको आरुघाटस्थित वितरण केन्द्रमा बाढीले क्षति पुर्याएपछि धार्चे गाउँपालिका अन्धकार बनेको उनले बताए । “बाढीले यहाँको बिजुली, सञ्चार, बाटो–घाटो, पुल सबै बगायो,” उनले भने ।
जिल्लाको आरुघाट गाउँपालिकाको ५० घरधुरी पनि विद्युत्विहीन बनेको त्यहाँका पालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए । उनका अनुसार आरुघाटको वडा नं ५ शांतीबजार क्षेत्रका ५० घरधुरीमा विद्युत् सेवा अवरुद्ध बनेको छ ।




















