रौतहटमा जलवायु उत्थानशील स्वास्थ्य सेवाको नमुना, देशभर विस्तार गर्ने तयारी

रौतहट, ७ कात्तिक । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) ले जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपद्का समयमा पनि मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न सकिने नमुना स्वास्थ्य सेवा प्रणाली रौतहटमा विकास गरेको छ। उक्त नमुनालाई देशका अन्य विपद् जोखिमयुक्त क्षेत्रमा समेत विस्तार गर्ने तयारी गरिएको छ।

मधेश प्रदेशको ईशनाथ नगरपालिकास्थित औरैयास्थित बर्थिङ सेन्टरमा आयोजित नीतिगत छलफल तथा स्थलगत अवलोकन कार्यक्रममा जलवायु उत्थानशील स्वास्थ्य सेवाको नमुना प्रस्तुत गरिएको हो। कार्यक्रममा सरकारी प्रतिनिधि, स्वास्थ्यकर्मी तथा समुदायका अगुवाहरूले जलवायुजन्य विपद्का समयमा स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्ने उपाय र यसको राष्ट्रिय विस्तारबारे छलफल गरेका थिए।

नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाले औरैया बर्थिङ सेन्टरको अवलोकनपछि ग्रामीण क्षेत्रमा मातृ स्वास्थ्य सेवा सुधार गर्न लक्षित लगानी महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले दक्ष स्वास्थ्यकर्मीको उपस्थितिले समुदायमा विश्वास बढाउने र गर्भावस्था तथा सुत्केरीपछिको अवस्थामा महिलालाई स्वास्थ्य सेवा लिन सहज हुने उल्लेख गर्नुभयो। ग्रामीण स्वास्थ्य संस्था, दक्ष जनशक्ति र आवश्यक पूर्वाधारमा लगानी गर्नु महिला, परिवार तथा समुदायको जीवन सुरक्षाका लागि महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो।

जापान सरकारको आर्थिक सहयोगमा सञ्चालित ‘नेपालमा मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमता सुधार परियोजना’ अन्तर्गत औरैया बर्थिङ सेन्टरलाई जलवायु उत्थानशील स्वास्थ्य संस्थाका रूपमा विकास गरिएको हो। यूएनएफपीएले स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयसँगको सहकार्यमा सञ्चालन गरेको परियोजनाअन्तर्गत केन्द्रमा वैकल्पिक विद्युत् प्रणाली, स्वास्थ्यजन्य फोहोर व्यवस्थापन स्थल, हावा आवतजावत तथा तापक्रम नियन्त्रणको व्यवस्था र पानी शुद्धीकरण प्रणाली जडान गरिएको छ।

यसका साथै स्थानीय तहमा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिसम्बन्धी निर्देशिका निर्माण र जलवायु अनुकूल स्वास्थ्य कार्ययोजना तयार गरी स्वास्थ्य संस्थाको दिगो सञ्चालनमा जोड दिइएको छ।

यूएनएफपीएका उपप्रतिनिधि डा. बशिर नजिबले सन् २०२६ अगस्ट २६ मा नेपालमा आएको आकस्मिक बाढीले गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्य सेवामा जलवायुजन्य विपद्ले पार्न सक्ने गम्भीर असर उजागर गरेको बताउनुभयो। उहाँले विपद् प्रतिरोधी पूर्वाधार, स्थानीयस्तरको योजना तथा तयारीमार्फत स्वास्थ्य संस्थालाई जोखिम सामना गर्न सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमअघि यूएनएफपीएले जापान सरकारको आर्थिक सहयोगमा मधेश प्रदेश सरकारलाई एक लाख अमेरिकी डलर बराबरका अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरण हस्तान्तरण गरेको थियो। ती सामग्री रौतहट जिल्लाका पाँच स्वास्थ्य संस्थामा वितरण गरिने र यसबाट आपत्कालीन प्रसूति तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढ हुने जनाइएको छ।

ईशनाथ नगरपालिकाकी उपप्रमुख कौशल्या देवीले चरम मौसमी घटनाका समयमा गर्भवती महिला तथा नवजात शिशुलाई निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले विपद् पूर्वतयारी सुदृढ गर्ने, स्वास्थ्य सेवा निरन्तरता सुनिश्चित गर्ने तथा स्वास्थ्य संस्थालाई सञ्चालनयोग्य राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सन् २०२५ मा सुरु भएको जापान सरकारको सहयोगमा सञ्चालित उक्त परियोजनाले रौतहट र जाजरकोट जिल्लामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। परियोजनाअन्तर्गत २० वटा स्वास्थ्य संस्थाको जलवायु जोखिम मूल्याङ्कन गरिएको, १० वटा नमुना जलवायु उत्थानशील स्वास्थ्य संस्था स्थापना गरिएको र नौवटा जलवायु अनुकूल नगरपालिका स्वास्थ्य कार्ययोजना तयार गरिएको यूएनएफपीएले जनाएको छ।

परियोजनाबाट प्राप्त अनुभव तथा प्रमाणका आधारमा नेपालका अन्य विपद् जोखिमयुक्त स्थानीय तहमा समेत जलवायु उत्थानशील स्वास्थ्य पूर्वाधार विस्तार गर्न सकिने अपेक्षा गरिएको छ।