सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका चार जनाविरुद्ध संघीय संसद्को संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ।
समितिले सोमबार सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित न्यायाधीशहरूको नियुक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए स्पष्ट आधार र प्रमाणसहित १० दिनभित्र पेस गर्न आग्रह गरेको हो।
न्याय परिषद्को असोज २० गते बसेको बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
न्याय परिषद्को सिफारिससँगै चारै जनाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइएको हो।
संसदीय सुनुवाइ समितिले प्रस्तावित व्यक्तिहरू सम्बन्धित पदमा नियुक्तिका लागि उपयुक्त नभएको ठान्ने व्यक्तिलाई त्यसको स्पष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ। समितिको सूचनाअनुसार उजुरी शिष्ट र मर्यादित भाषामा तयार गरी सूचना पहिलो पटक प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयमा बुझाउनुपर्नेछ।
उजुरीकर्ताले समितिको सचिवालयमा प्रत्यक्ष उपस्थित भएर वा कुनै पनि जिल्ला प्रशासन कार्यालयमार्फत सूचना तथा उजुरी पेस गर्न सक्नेछन्। सूचना वा उजुरी दिने व्यक्तिले आफ्नो नाम, थर, ठेगाना र सम्पर्क फोन नम्बर स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। यद्यपि, उजुरीकर्ताले अनुरोध गरेमा उनको नाम गोप्य राखिने समितिले जनाएको छ।
समितिमा प्राप्त उजुरीमाथि आवश्यक छलफल गरिनेछ। त्यसक्रममा उजुरीकर्तासँग समेत छलफल गरी प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ अघि बढाइनेछ।


















