चक्रवात ‘अर्नब’को प्रभावः पूर्वमा छिटपुट वर्षा शुरु, बेलुकीदेखि ठूलो वर्षा र हिमपातको सम्भावना

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा देखिन थालेको छ । पूर्वी क्षेत्रमा छिटपुट वर्षा सुरु भएको छ भने देशका अधिकांश स्थानमा बादल लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिदेखि कोशी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना छ।
मधेस तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा पनि भारी वर्षा हुन सक्नेछ।

शनिबारसम्म वर्षा र हिमपातको सम्भावना रहेकाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ।
चिसो बढ्ने, पहिरो जाने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन र उच्च हिमाली क्षेत्रमा भ्रमण नगर्न आग्रह गरिएको छ।