अमेरिकामा मध्यावधि (मिडटर्म) निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ । सुरुवाती रुझानमा डेमोक्रेटिक पार्टीले हाउस अफ रिप्रेजेन्टेटिभ्स र सिनेट दुवैमा बहुमत ल्याउने सम्भावना देखिएको छ । हाउस अफ रिप्रेजेन्टेटिभ्सका सुरुवाती रुझानमा विपक्षी डेमोक्रेटिक पार्टीले ५० भन्दा बढी सिटमा अग्रता बनाएको छ भने राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले २१ सिटमा मात्रै अग्रता बनाएको छ । तल्लो सदनका सबै ४३५ सिटमा निर्वाचन भएको हो ।
सिनेटका १०० मध्ये ३५ सिटमा योपटक निर्वाचन भएको छ । सिनेटमा डेमोक्रेटिक पार्टीका हाल ४३ जना रिपब्लिकन पार्टीका ३२ जना छन् । बाँकी २६ सिटमा नतिजा आउन बाँकी छ । सिनेटमा बहुमतका लागि ५१ सिटको आवश्यकता हुन्छ ।
हालसम्म अमेरिकामा गभर्नर पदका कुल ३६ सिटमध्ये करिब १४ राज्यको परिणाम आइसकेको छ । जसमा ८ रिपब्लिकन र ६ जना डेमोक्रेटले जित हासिल गरेका छन् । बाँकी राज्यको मतगणना जारी छ । गभर्नर पद राज्य सरकारको सबैभन्दा शक्तिशाली निर्वाचित पद हो । डेमोक्रेटिक उम्मेदवारहरूले इलिनोए, मासाच्युसेट्स, मेरिल्यान्ड र पेन्सिलभेनियामा जित हासिल गरेका छन् ।


















