राप्रपा अध्यक्षमा भिड्ने तयारीमा ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीको आगामी महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। उनले एक–दुई दिनभित्रै उम्मेदवारीबारे औपचारिक घोषणा गर्ने बताएका छन्। अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका शाहीले पार्टीमा पुस्तान्तरण र रूपान्तरण आवश्यक रहेको उल्लेख गर्दै युवाहरूले नेतृत्व लिनुपर्ने बताए।

पछिल्लो निर्वाचनमा जनताको अपेक्षित समर्थन पाउन नसकेको प्रसंग उठाउँदै उनले सिद्धान्त, एजेन्डा र व्यवहारबीच तालमेल मिलाएर जनताले विश्वास गर्ने पार्टी बनाउनुपर्ने धारणा राखे।शाहीले आफू पार्टीभित्र कुनै गुटमा नरहेको स्पष्ट पार्दै वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको सर्वोच्च नेता बनाउन प्रस्ताव गर्ने बताए। लिङ्देनले प्रस्ताव स्वीकार नगरे अध्यक्ष पदमै प्रतिस्पर्धा गर्ने उनको भनाइ छ।

राप्रपाको आगामी केन्द्रीय महाधिवेशन मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ। अध्यक्ष पदका लागि लिङ्देन र नेता विक्रम पाण्डेले पनि प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।