एमाले केन्द्रीय कमिटी बैठक एक दिन अघि सर्‍यो

नेकपा एमालेले केन्द्रीय कमिटीको बैठकलाई एक दिन अगाडि सारेको छ । एमालेको मंगलबार बसेको स्थायी कमिटिको बैठकले केन्द्रीय कमिटीको बैठकलाई एक दिन अगाडी सार्ने निर्णय गरेको हो । मंसिर ५ गतेका लागि तय गरिएको केन्द्रिय कमिटीको बैठकलाई एक दिनअघि सारेर मंसिर ४ गते बोलाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

‘केन्द्रीय समितिको बैठक हामीले ५ गते राख्ने भनेको त्यसलाई ४ गते सारिएको छ,’ उनले भने । बैठकले मंसिर २ र ३ गतेका लागि तोकिएको राष्ट्रिय भेलामा प्रश्तुत गर्ने एजेण्डा समेत पारित गरेको छ । एमालेको राष्ट्रिय भेलामा स्थानीय निर्वाचनको तयारी मुख्य एजेण्डा बनाएको उपमहासचिव भट्टले बताए ।राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनको तयारी र पार्टी संगठन परिचालनलाई मुख्य एजेण्डाका रूपमा अगाडी बढाउने उनले बताए । उनका अनुसार राष्ट्रिय भेलामा अध्यक्ष केपी ओलीले वर्तमान राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामबारे कार्यपत्र प्रश्तुत गर्नेछन् ।

त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राष्ट्रिय राजनीति र पार्टीका विषयमा कार्यपत्र प्रश्तुत गर्ने उनले जानकारी दिए । ‘राष्ट्रिय भेलामा अध्यक्ष कमरेडको वर्तमान नेपालको राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामका विषयमा कार्यपत्र प्रश्तुत हुन्छ । त्यसैगरी समसामयिक राष्ट्रिय राजनीति र पार्टी विशेषमा वरिष्ठ नेताको कार्यपत्र प्रश्तुत हुन्छ,’ भट्टले जानकारी दिँदै भने ।

उनका अनुसार उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी कार्यपत्र र अर्का उपाध्यक्ष विष्णु पौडेलले एमालेको कार्यकालमा भएका विकास निर्माणका कामको तथ्यांकसहित विवरण प्रश्तुत गर्नेछन् । बैठकमा भेलाको तयारीबारे संगठन विभाग प्रमुख तथा पार्टीका केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी गराएको उनले बताए ।