बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले आफूलाई गरिएको विभागीय कारबाहीविरुद्ध पुनरावेदन गरेका छन्। उनले बर्खास्त गर्ने सरकारको निर्णयमाथि पुनर्विचार गर्न माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएका हुन्।सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार कारबाही भएको ३५ दिनभित्र पुनरावेदन गर्न पाउने व्यवस्था छ। सोही अवधिभित्र दाहालले निवेदन दिएको स्रोतले जनाएको छ। एआईजी तहका अधिकारीलाई कारबाही गर्ने अधिकार गृहमन्त्रीसँग रहे पनि त्यसविरुद्धको पुनरावेदन सुन्ने अधिकार नेपाल सरकार अर्थात् मन्त्रिपरिषद्लाई छ। अब उनको कारबाही कायम राख्ने वा फुकुवा गर्ने भन्ने निर्णय मन्त्रिपरिषद्ले गर्नेछ।
सरकारले गत असोज २३ गते आचरण उल्लंघन, अनुशासनहीन गतिविधि तथा संगठन र सरकारको प्रतिष्ठामा आँच पुर्याएको आरोपमा दाहाललाई सेवाबाट बर्खास्त गरेको थियो। चार वर्षे पदावधिका कारण उनी असोज २७ गते अवकाशमा जाँदै थिए। तर अवकाश हुनुअघि नै सरकारले विभागीय कारबाही गरेको थियो। इनाम सापकोटासँग सुरक्षासम्बन्धी संवेदनशील विषयमा कुराकानी गरेको देखिएपछि सरकारले दाहालमाथि कारबाही गरेको थियो। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका सापकोटा हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।
यसअघि प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेर १२ घण्टापछि रिहा गरेको घटनाका क्रममा दाहाल राति नै उनलाई भेट्न पुगेका थिए।


















