श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पनि मुछिए

मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणको अनुसन्धान पूर्वमुख्यसचिव एकनारायण अर्यालसम्म पुगेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धानका क्रममा उनको समेत संलग्नता देखिएको जनाएको छ। उच्च स्रोतका अनुसार अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनी सम्पर्कविहीन छन्।

यस प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्री, तत्कालीन सचिवसहित ६ जनालाई पक्राउ गरेको थियो। यसअघि चार जना पक्राउ परिसकेका छन्। नेपाल-मलेसिया श्रम सम्झौताविपरीत श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी करिब १ अर्ब ६९ करोड रुपैयाँ मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।