बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीले आज सडकमा बसेर खाना खाए

 

१२ मंसिर, काठमाडौं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीले आज सडकमा बसेर खाना खाएका छन् ।

हिजोदेखि सेन्टरमा खाना बन्द भएपछि आज बिहान बाहिरबाट खाना लिएर पुगेका अभियन्तालाई प्रशासनले भित्र प्रवेश गर्न दिएन । त्यसपछि उनीहरूले सेन्टरबाहिरै सडकमा खाना बाँडेका हुन् ।

बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका १९ परिवारका ५९ जना सडकमा बसेर खाना खान बाध्य भएका हुन् ।

गत वैशाखमा थापाथली, गैरीगाउँ र मनोहरा लगायतका नदी किनारका बस्तीबाट हटाइएका सुकुमवासीलाई सरकारले काठमाडौंको नागार्जुन तथा भक्तपुरको बोडे र खरिपाटीमा अस्थायी बसोबासको व्यवस्था गरेको थियो । उनीहरू सात महिनादेखि ती स्थानमा बस्दै आएका छन् ।

बोडेमा बस्दै आएकाहरूलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो । त्यसअघि सुरक्षाकर्मीले माइकिङ गरेर पनि ठाउँ छाड्न भनेका थिए ।

वैकल्पिक आवासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै सुकुमवासीले प्रशासनको निर्देशनको विरोध गर्दै आएका छन् । उनीहरूले बिहीबार रित्तो थाल ठटाएर प्रदर्शनसमेत गरेका थिए ।

प्रशासनका अनुसार त्यहाँ बस्दै आएका १९ परिवारमध्ये सात परिवार भूमिहीन होइनन् भने १२ परिवारले सम्बन्धित पालिकाबाट जग्गा उपलब्ध गराउने निस्सा पाएका छन् । भूमि समस्या समाधान समितिबाट प्राप्त अभिलेखका आधारमा होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिइएको प्रशासनको भनाइ छ ।