समता घरेलु लघुवित्तले कात्तिक १२ गतेदेखि एफपीओ निष्काशन गर्ने

आगामी कात्तिक १२ गतेदेखि समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ। लघुवित्तले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम हुने गर्न नपुग शेयर सर्वसाधारणमा एफपीओ जारी गर्न लागेको हो।
लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। सो शेयरका लागि लगानीकर्ताले कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि कात्तिक २६ गतेसम्म लम्बिनेछ।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
हाल लघुवित्तको चुक्ता पूँजी ५६ करोड ४० लाख ६ हजार ३०४ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ५९ करोड ९० लाख ९६ हजार ७२८ रुपैयाँ २५ पैसा पुग्नेछ।